काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताउनु भएको छ।
पानीको बहाव बढ्नेबित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै भौतिकमन्त्री दाहालले सो बारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ।
च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबान पर्दै आएको छ। डुबानका विषयमा मंगलवार निरीक्षणका क्रममा मन्त्री दाहालले एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गरेका थिए।
खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खालाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको पनि जानकारी दिनुभयो।
मोटरेबल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निर्णय लिने पनि जानकारी उहाँले दिनुभयो।
पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पस्ने गरेको उहाँको भनाइ थियो।
ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रुपमा बग्नको लागि पुलमा समस्या देखिएको बताउनु भयो।
पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गर्न मन्त्रीले निर्देशन दिएको उनले जानकारी दिनुभयो।




प्रतिक्रिया