अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस र एमालेबीचको गठबन्धन कसैको विरुद्धमा छैन, कोही तर्सिनु पर्दैन: सभापति देउवा

कांग्रेस र एमालेबीचको गठबन्धन कसैको विरुद्धमा छैन, कोही तर्सिनु पर्दैन: सभापति देउवा


काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनेको स्पष्ट पार्नुभएको छ। 

मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पार्नुभयो।

सभापति देउवाले भन्नुभयो‚ ‘गठबन्धन अरू पार्टीको खिलाफ हैन। माओवादी‚ माधवजीको पार्टी लगायत सबैलाई एक गरेर लैजाने, सबैलाई एक साथ राखेर अघि बढ्ने हो।’

उहाँले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको पनि बताउनु भयो। सभापति देउवाले संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शङ्का उपशङ्का नगर्न आग्रह गर्नुभयो।

सभापति देउवाले वर्तमान गठबन्धनबाट कसैले पनि तर्सिनु नपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘वर्तमान गठबन्धन कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, हामी देश-जनताको हितका लागि सहकार्य गर्दै अघि बढ्छौं।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने लगायत विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताउनु भयो । उहाँ भन्नुभयो‚‘संविधान संशोधन षड्यन्त्र गरेर हैन।  सबैसँग सल्लाह गरेर गरिने कुरा हो। केपी शर्मा ओली र मेरो बीचमा भएको सहमति कसैको दबाबमा हैन।’

सभापति देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गर्नुभयो।