काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली अब केही बेरमा चीन प्रस्थान गर्दै हुनुहुन्छ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले आजदेखि मंसिर २० सम्म चीनको औपचारिक भ्रमण जान लाग्नु भएको हो।
प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्नेछ भने स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नुहुनेछ।
आइतबार साँझको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरूलाई अन्तिम रूप दिइसकेको छ। भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता हुनेछ। बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा आठ सदस्य थपिने छन् । सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन्।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौं चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयू (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ।
यस्तै बीपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन्। एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुने गरी छलफल अघि बढेको छ। यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सीएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुनेछ। मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । त्यसपछि दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङलाई भेट गर्नेछन्।
चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ। मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ। प्रधानमन्त्री ओली मङ्सिर २० गते साढे २ बजे स्वदेश फर्कने छन्।
भ्रमणको तयारीकै क्रममा सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका विषयमा गृहकार्य भएको छ । दुई देशशीच सहयोग र सहकार्य हुँदै आएका कनेक्टिभिटी, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायतका क्षेत्रमा सहयोग र सहकार्यका विषयमा थप छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया