काठमाडौँ-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् युवापुस्तालाई खेलप्रति आकर्षण गर्न आवश्यक रहेको बताउनुभएको छ।
मंगलवार काठमाडौँमा प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगितापछि सभामुख घिमिरेले यस्तो बताउनु भएको हो।
१८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको छ।
फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनुभयो। उहाँले संसद सेवा दिवसमा संसदका सांसद, सचिवालयका सदस्य, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरी मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनुभयो। उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैँ तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो।
‘आज सङ्घीय संसद सेवा दिवस हो। संसद सेवा स्थापना भएको १८ वर्ष पूरा भयो। यसका अवसमा हामी सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । त्यहीअनुसार आज प्रतिनिधि सभाको एउटा टिम र राष्ट्रिय सभाको एउटा टिम बनाएर फुटसल खेलिरहेका छौं ।’’ सभामुख घिमिरेले भन्नुभयो, ‘’टिम क्याप्टेन राष्ट्रिय सभाको अध्यक्ष हुनुहुन्छ। प्रतिनिधि सभाको म छु । यसले युवाहरुलाई खेलप्रति आकर्षित गर्नुका साथै हामीहरुलाई पनि खेल प्रेमि छन् भन्ने सन्देश दिनेछ।’
राष्ट्रियसभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताउनुभयो।
प्रतिक्रिया