अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैकुण्ठ-उषा पत्रकारिता पुरस्कार पत्रकार माधव पोखरेललाई

बैकुण्ठ-उषा पत्रकारिता पुरस्कार पत्रकार माधव पोखरेललाई


उदयपुर-यस बर्षको बैकुण्ठ-उषा पत्रकारिता पुरस्कार उदयपुरका अग्रज पत्रकार माधव पोखरेललाई प्रदान गरिने भएको छ। प्रेस चौतारी नेपाल उदयपुर शाखाले तीन वर्ष अघि स्थापना गरेको दश हजार राशीको उक्त पुरस्कार क्रियाशिल पत्रकार तथा साहित्यकार पोखरेललाई दिने निर्णय भएको हो।

पुरस्कार छनौट समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गर्दै प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा माघ २२ गते तेश्रो वर्षको पुरस्कारबाट सम्मानित गरिने अध्यक्ष पुरुषोतम सापकोटाले बताउनुभयो। पोखरेल नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, दैनिक न्यूज अफ नेपाल अनलाइन, एपिवान टेलिभिजनमा हाल कार्यरत हुनुहुन्छ।

२०४८ सालमा जनकपुरबाट प्रकाशित नयाँ पाइलो साप्ताहिक, जलेश्वरबाट प्रकाशित मुक्त नेपाल हिन्दी पत्रिका र सिन्धुलीबाट प्रकाशित सिन्धुली साप्ताहिकबाट पोखरेलले पत्रकारिता प्रारम्भ गरेका हुन्। पोखरेल २०५२ सालदेखि प्रकाशन प्रारम्भ भएको तत्कालीन आजको समाचारपत्र (हाल नेपाल समाचारपत्र)मा समाचार लेख्दै आउनुभएको छ।

पोखरेल २०५२ सालमा सर्लाही, सिन्धुली र रामेछाप जिल्लाको संयुक्त रुपमा गठन भएको तत्कालीन नेपाल पत्रकार संघमा संस्थापक कार्यसमिति सदस्य भएर काम गरिसकेका छन्। प्रत्येक वर्ष प्रेस चौतारी नेपालको स्थापना दिवसका दिन अर्थात् माघ २२ गते वितरण गरिने उक्त पुरस्कार जिल्लामा सक्रिय भएर समाचार लेख्ने पत्रकार मध्येबाट छनौट गरी दिने गरिएको छ । पुरस्कारका संरक्षक समाजसेवी अधिवक्ता बैकुण्ठनाथ दाहाल र निजकी श्रीमती उषा दाहाल रहनुभएको छ।

तत्कालीन अवस्थामा (०५१।०५२)मा प्रकाशित नेकपा एमाले समर्थित प्रतिपक्ष साप्ताहिक, सम्बोधन साप्ताहिक र छलफल साप्ताहिकामा पनि समाचार तथा कविता र अन्य लेख प्रकाशित गरिसकेका पोखरेल तत्कालीन जनकपुर अंचलको धनुषा जिल्लास्थित दिगम्बरपुर गाउँ विकास समिति वडानं ५ (हालको क्षिरेश्वरनाथ नगरपालिका ५) मा २०२१ साल जेष्ठ १७ गते जन्मिएका हुन् । उहाँ पछिल्लो समय उदयपुरको पंचावती माध्यमिक विद्यालयबाट एसएलसी उतिर्ण गरेर जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसबाट उच्च शिक्षा प्राप्त गरेका हुन्।

प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाको अध्यक्ष समेत रहेका पोखरेल प्रगतिशील लेखक संघ नेपाल कोशी प्रदेश सचिवालय सदस्य, नेपाल साहित्यिक पत्रकार सङ्घको केन्दीय सदस्य तथा कोशी प्रदेश संयोजक रहेका छन्। यस्तै साहित्यपोष्ट डटकमको कोशी प्रदेश छन्द कविता संयोजक, फित्कौली हास्यव्यङ्ग्य अनलाइनको नियमित स्तम्भ लेखक, उदयपुर साहित्य कला प्रतिष्ठानको महासचिव, सगरमाथा साहित्य प्रतिष्ठानको कोशी प्रदेश कमिटी सदस्य रहेका पोखरेलका सातवटा कृति प्रकाशन भएका छन् ।

प्रकाशित कृतिहरु मध्ये छ वटा हास्यव्यङ्ग्य र एक थान कथा रहेको छ। हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाउने पोखरेल लामा, छोटा गद्य तथा पद्य कविता, संस्मरण, कथा निबन्ध लगायतका विधामा कलम चलाउदै आएका छन।
नेपाली भाषा साहित्यका क्षेत्रमा लागेपछि पोखरेलले २०५० सालमा द रेयुकाई नेपाल चितवनको रत्ननगर टाडी शाखाले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम, २०५२ सालमा काठमाण्डौको नव कविता प्रकाशनले प्रदान गरेको नव कविता प्रतिभा पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न जिल्लामा भएका राष्ट्रिय स्तरका कविता प्रतियोगितामा प्रथम द्धितीय हुनुका साथै सम्मानित समेत भएका छन् ।

शब्दार्थ प्रकाशनले आख्यान विधामा (लघुकथा) २०७६ सालको वैजयन्ती स्रष्टा सम्मानबाट सम्मानित समेत भएका छन्। नवसिर्जना साहित्यिक त्रैमासिकको सम्पादक र प्रकाशक, प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर शाखाबाट प्रकाशित उदयपुर प्रलेसको प्रधान सम्पादक, उदयपुर साहित्य कला प्रतिष्ठानद्धारा प्रकाशित उदयपुर सौगात साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादक समेत हुन् ।

सेवा निवृत राष्ट्रसेवक समेत रहेका पोखरेल निजामती सेवामा रहेको अवस्थामा नै विभागीय सहमती लिएर पत्रकारिता क्षेत्रमा होमिएका थिए। पोखरेलले माओवादी द्वन्द्वका समयमा सिन्धुली र धनुषा जिल्लामा रहेर पत्रकारिता गर्दा स्थानीय प्रशासनको कुदृष्टिमा परेका थिए । जसकाकारण एकताका पत्रकारिता गर्ने सहमती खारेजीमा परेको र तराईमा तत्कालिन अवस्थामा भूमिगत रहेर देशमा आतङ्क मच्चाउने गरेका समुहको तारो बनेर लुकीछिपी, छद्म नामबाट पनि पत्रकारिता गर्दै आएका थिए।
निजामती सेवामा सिन्धुली जिल्ला हुलाकमा रहँदा २०५२ सालमा माओवादी द्वन्द्व प्रारम्भ हुँदा माओवादीले सिन्धुली गढीको प्रहरी चौकी जलाएको आरोपमा अमलेका देवकोटा दाजुभाइको स्थानीय प्रशासनले हत्या गरेको समाचार प्रतिपक्ष साप्ताहिक र आजको समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरेकोमा तत्कालिन सिडियो नेत्रबहादुर कार्की, डिएसपि विजय भट्ट लगायतकाले कर्मचारी भएर पत्रकारिता गरेको भन्दै लोकसेवा आयोगमा जागिरबाट हटाउन राय सुझाव सहित कार्वाहीको माग गरेको पोखरेलले तितो अनुवभ सुनाउनुभयो।

लोकसेवा आयोगले पत्रकारिता गरेको पर्याप्त प्रमाण नदेखिएको, कार्यालय समय बाहेकको समयमा विभागीय सहमती लिएर समाचार लेख्न पाउने खोज तथा अनुसन्धान मुलक साहित्यिक लेख रचना लेख्न पाउने भनि पत्र पठाएपछि सिडियो र डिएसपिले कार्वाही गर्नबाट पछि हटेको उहाँले सुनाउनुभयो।