अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णालीमा वर्षाकाे सम्भावना

आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णालीमा वर्षाकाे सम्भावना


काठमाडौं – देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
काठमाडौंमा पनि आज वर्षाको सम्भावना रहेको छ । दिउँसो वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिनुभयो ।

“दिउँसो २र३ बजेपछि काठमाडौंमा वर्षाको सम्भावना छ । दिनभर काठमाडौंमा बदली हुनेछ,” अर्यालले जानकारी दिनुभयो, “दिनभर बदली हुने भएकाले जुनसुकै बेला काठमाडौंमा हल्का वर्षा हुनसक्छ । यद्यपि, २र३ बजेपछि वर्षाको बढी सम्भावना छ ।”

वाग्मती प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना छ । नुवाकोट र रसुवाको पहाडी भूभागमा वर्षा हुने उहाँको भनाइ छ ।

काठमाडौंमा आज चिसो हुनेछ । काठमाडौंमा आज दिउँसोको तापक्रम बढेर १८ देखि २० डिग्री सेल्सियससम्म रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

“काठमाडौंमा बदली र वर्षाको सम्भावना रहेकाले चिसो हुनेछ,” उनले भने ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।