अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैनः अध्यक्ष केसी

प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैनः अध्यक्ष केसी


बागलुङ-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताउनुभएको छ।

बागलुङमा आज ७५औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गर्नुभयो। सत्ता र शक्तिमा बस्नेहरुले जनताको भवनाविपरीत काम गर्न नहुने उहाँको सुझाव थियो। 

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाउनुभयो। जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने उहाँले दाबी गर्नुभयो।

'अहिले पनि कतिपय मान्छेहरुले यो लोकतन्त्र, गणतन्त्रको औचित्य छैन, यसले नेपाली जनताको गास, बासको समस्याको समाधान गर्न सकेन, त्यसकारण आवश्यक छैन भन्न थालेका छन्', केसीले भन्नुभयो, 'प्रतिगामीहरुले प्रजातन्त्रका विरुद्धमा हल्ला पिटेका छन्।'

उहाँले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनताले निरङ्कुश शासन ढालेर ल्याएको बताउनुभयो । सत्तामा नेता आउने जाने प्रक्रिया चलिरहने र जनता सधैं स्थायी हुने अध्यक्ष केसीको भनाइ छ। नेपाली जनतालाई प्रजातन्त्र अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो।

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने अध्यक्ष केसीले बताउनुभयो। जनताको चाहना र आवश्यकताअनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो। सरकारले युवा शक्तिलाई आफ्नै गाउँ ठाउँमा बस्ने वातावरण तयार गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिनुभयो।