काठमाडौं-नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ।
‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ।
बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताउनु भयो।
उहाँले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिनाभरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिनुभयो।
“महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसरहरु उपलब्ध गराउनका लागि सदैव तयार छ”, उहाँले भन्नुभयो।
बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो। काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो।
उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ।
पुरुषहरुको सहभागितासँगै हिँड्नु मात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरुले बताउनुभयो।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो। बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ। बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।







प्रतिक्रिया