अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले


काठमाडौँ-सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा काफ्ले कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा आज यहाँ जारी जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा काफ्ले सदस्य हुनुहुन्थ्यो । कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।

यसअघि डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गर्नुभएको थियो । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बिमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उहाँको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम उहाँले आरम्भ गर्नुभएको थियो ।

डा काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत हुनुहुन्थ्यो । यसैगरी उहाँ विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आउनुभएको छ । अर्थशास्त्रमा विद्यावारिधि डा काफ्लेले लामो समय प्राध्यापनसमेत गर्नुभएको थियो ।