काठमाडौं-राष्ट्रिय युवा संघ नेपाल झापाका इञ्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति साङ्घातिक आक्रमण भएको छ।
आक्रमणबाट तीनै जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ। आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदीप राजवंशी र अजय खवासको अर्थ वार्डमा राखेर उपचार भइरहेको छ।
आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उहाँको अनुहारमा गम्भीर चोट लागेको छ भने हात र शरीरका विभिन्न भागमा चोट लागेको छ।
बिर्तामोड-४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ। घर भित्र पस्न चेन गेटमा पुग्ने बित्तिकै उहाँ माथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा घाइते खवासले रोक्ने प्रयास गर्नुभएको थियो। ‘मैले रोक्ने प्रयास गरेँ, रोक्ने प्रयास गर्दा मेरो हातको ४ वटा औँला काटिएको छ’, उहाँले भन्नुभयो।
यस्तै अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका सोही समूहका चार जनाले आक्रमण गरेका थिए।
घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो।







प्रतिक्रिया