अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन र विधिको शासनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। त्यस निम्ति उहाँले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो।

राष्ट्रपति कार्यालयमा आज आयोजित अन्तर व्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रममा 

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सङ्घीयता, सुशासन र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व तपाईंहरुको काँधमा छ।’

राष्ट्रपति पौडेलले कतिपय महत्वपूर्ण निर्माणमा विलम्ब भएको र संसद्मा जनसरोकारका विषयमा  पर्याप्त  छलफल नभएको गुनासो सार्वजनिक भइरहेको सन्दर्भमा संसद्को नेतृत्वकर्ताका हैसियतलले यो अवस्थालाई हटाएर संसद्लाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रुपमा विकास गर्न सरकारलाई सुझाउनुभयो। उहाँले भन्नुभयो, “संसदीय अभ्यासबाट सिक्ने अवसरलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सक्षम, जवाफदेही र जनउत्तरदायी संसद् निर्माण गर्न तपाईंहरूबाट अतिरिक्त तत्परताको अपेक्षा गरेको छु।'   

संसद्ले प्रभावकारी कानुन निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताका आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने विचार व्यक्त गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। सङ्घीय संसद्ले समावेशी, दीर्घकालीन र विकासमैत्री कानुनी संरचना निर्माण गर्नुपर्ने राष्ट्रपति पौडेलको धारणा थियो। उहाँले भन्नुभयो, “कानुन निर्माण तथा पारदर्शिता लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो। अतःसंसद्को भूमिकालाई अझै मजबुत बनाउँदै सङ्घीयताको सफल कार्यान्वयनका लागि तपाईंहरुको सहयोग अपरिहार्य छ।'