अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार आएपछि महँगी बढ्यो, जनतालाई थप पीडा : महासचिव पोखरेल

नयाँ सरकार आएपछि महँगी बढ्यो, जनतालाई थप पीडा : महासचिव पोखरेल


काठमाडौँ-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि जनताले राहत पाउनुको सट्टा थप आर्थिक कठिनाइ भोग्नुपरेको आरोप लगाएका छन्। उनले बजारमा वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको भन्दै सरकार महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न असफल भएको टिप्पणी गरेका हुन्।

काठमाडौँको टोखा नगर कमिटीले मौलिक महान् पर्वहरू तथा नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको बताए।

नयाँ सरकारबाट जनताले परिवर्तन, राहत र सहज जीवनको अपेक्षा गरे पनि व्यवहारमा त्यसको अनुभूति गर्न नपाएको महासचिव पोखरेलको भनाइ थियो।

‘यो नयाँ सरकार आइसकेपछि, नयाँ भनिनेहरू भनौँ सबैभन्दा पीडा जनतालाई भएको छ। किन भएको छ भने महँगी बढेको बढेई छ। दुई वर्ष अगाडि बजार भाउ के थियो र अहिले दुई वर्षपछि बजार भाउ के छ भनेर हेर्ने हो भने आकाश जमिनको अन्तर छ,’ महासचिव पोखरेलले भने।

सरकारको प्रमुख दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि नागरिकले आर्थिक भार खेप्नुपरेको र शासन सञ्चालन गर्नेहरूबाट आश्वासन मात्रै आइरहेको महासचिव पोखरेलले टिप्पणी गरे ।

‘आखिर सरकार भनेको त जनताको सुखको लागि हो नि त। जनताले सबै कुरा गुमाउने अनि शासनमा बस्नेहरूले चमत्कार गरिदिन्छन् भनेर हामी कहिलेसम्म बस्ने ? गर्ने केही पनि होइन, गर्छ कि भनेर मख्ख पारेको छ,’ महासचिव पोखरेलले भने ।

कार्यक्रममा पोखरेलले सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति, भ्रम र नकारात्मक प्रभाव फैलाइरहेको पनि बताए। मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि चुनौती थपिएको उनको भनाइ थियो ।

‘हाम्रा परम्परा, हाम्रा मूल्य र हाम्रा संस्कृतिहरू समेत यसले खाइरहेको छ । यो मोबाइलको भाँडोले हाम्रो संस्कृति र सम्पदालाई खाइराखेको छ,’ महासचिव पोखरेलले भने ।

सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसारका सामग्री निरन्तर देखाउने प्रवृत्तिले मानिसको सोच्ने शैली, सिर्जनशीलता र सामाजिक व्यवहारमा नकारात्मक प्रभाव पारिरहेको पोखरेलले बताए । समाजलाई प्रविधिको विकाससँग जोड्दै त्यसबाट उत्पन्न विकृति नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए ।

महासचिव पोखरेलले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने धारणा राख्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै पोखरेलले राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउन गरेको योगदानको स्मरण गरे । मौलिक चाडपर्व, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनले राष्ट्रिय एकता बलियो बनाउने उनको भनाइ थियो ।