अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई कसैले पनि हराउन सक्दैन: सञ्चारमन्त्री गुरुङ

एमालेलाई कसैले पनि हराउन सक्दैन: सञ्चारमन्त्री गुरुङ


भक्तपुर-सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताउनुभएको छ।

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै गुरुङले नेकपा एमाले अन्य पार्टी र एमालेका नेताहरू अन्य पार्टीका नेता भन्दा फरक भएका बताउनुभयो। एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल पार्टी भएको उहाँले दाबी गर्नुभयो।

एमाले नेपालमा सबैभन्दा उत्कृष्ट विचार र दृष्टिकोण भएको पार्टी भएको उहाँको दाबी छ। यति हुँदाहुँदै पनि पार्टी भित्र देखिएको साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवादका कारण एमाले कमजोर बन्दै गएको उहाँको धारणा छ। पार्टी भित्र कम्युनिष्ट पार्टीका पाँच प्रमुख सिद्धान्त कमजोर हुँदा अराजकता र अवसरवाद मौलाउँदै गएको उहाँले बताउनुभयो। ‘त्यसैले हाम्रो कार्यशैली र आचरणमा सुधार हुन आवश्यक छ, जहाँ कमजोरी र अनुशासन हीनता देखिएको छ त्यसलाई फाल्नुपर्छ, एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’, उहाँले भन्नुभयो।

आफूले टिकट पाउँदा ठिक, नपाउँदा सबै बेठिक हुने आत्म केन्द्रित विचार बोक्ने पार्टीका नेता कार्यकर्ताले पार्टी समाप्त हुने उहाँको भनाइ छ। व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने व्यक्ति केन्द्रित विचारले पार्टी अघि नबढ्ने उहाँले बताउनुभयो।
यसलाई अन्त्य गर्न एमालले शुद्धीकरण अभियान चलाएको भए पनि त्यो अभियान सफल हुन नसकेको उहाँले बताउनुभयो। त्यसैले पार्टी सोचे जसरी अघि बढ्न नसकेको उहाँको भनाइ छ।

उहाँले यति हुँदा हुँदै पनि निराश हुने अवस्था नरहेको बताउनुभयो। कम्युनिष्टहरु सधैँ आशावादी हुने भएकोले आशा र विश्वासका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

एमाले, कांग्रेस र माओवादीको एजेण्डा छुट्टिएन भन्ने आरोप अहिले जनस्तरबाट लागेको बताउँदै उहाँले त्यसमा भिन्नता देखिनु पर्ने बताउनुभयो। यसको लागि सबैभन्दा बढी पार्टीबाट निर्वाचित जनप्रतिनिधि जिम्मेवार हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कहिल्यै पनि हार नमान्ने मान्छे मात्र सफल हुने बताउँदै उहाँले दृढ सङ्कल्पका साथ लाग्ने मात्र लक्षमा पुग्ने धारणा राख्नु भयो । एमाले अध्यक्ष केपी ओलीमा त्यो गुण भएको उहाँले बताउनुभयो।