अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुँदै

अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुँदै


काठमाडौं-नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको २४ औँ महाधिवेशनमा अहिले बन्दसत्र चलिरहेको छ।

आइतबार उद्घाटन सत्र सकिएलगत्तै प्रस्तुत भएका राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएका छन्। आज ती प्रतिवेदनमाथिको समूहगत छलफल सकेपछि निर्वाचन प्रक्रिया सुरु हुने अनेरास्ववियुले जनाएको छ। 

आज साँझसम्म निर्वाचन प्रक्रिया सुरु हुने अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले जानकारी दिनुभयो।  अनेरास्ववियुमा यसपटकदेखि ३२ वर्षे उमेरहद लाग्दैछ। उमेरहदका कारण यसअघिको कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना बाहिरिएका छन्।

हाल सचिव रहेकाहरू दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेललगायतले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। 

यही जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा ३२ वर्ष उमेर हद लागु गर्ने निर्णय गर्दै परिपत्र गरेको थियो।