काठमाडौं-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा गत वर्ष देखि निरन्तर अनेक प्रकारका अड्कलबाजी चलिरहेका छन्। कतिपयले उहाँ सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेको भन्छन् त कतिपयले सक्रिय राजनीतिमा फर्किसकेको भन्ने गरेका छन्। यिनै चर्चा परिचर्चाका बीच उहाँले कर्णाली प्रदेशबाट गत वर्ष देखि सुरु गरेका ‘राजनीतिक यात्रा’ जारी छ। मधेस र सुदूरपश्चिम प्रदेश बाहेक उहाँ सबै प्रदेशमा अनौपचारिक भ्रमणका निम्ति पुगिसक्नु भएको छ। कोशी प्रदेश उहाँको गृह प्रदेश, राजनीतिको स्कूल र मदन भण्डारीको पनि घर भएको प्रदेश भएकोले त्यतातिरको उहाँको निकटता बढी प्रगाढ देखिन्छ। राष्ट्रपतिबाट बाहिरिएपछि कोशीको यो उहाँको दोस्रो यात्रा हो।

जेठ २३ गते देशैभरिका स्थानीय तहका उपप्रमुखहरूको भेला उद्घाटन गर्न २२ गते नै विराटनगर झर्नु भएकी भण्डारी अझै कोशी प्रदेशमै व्यस्त हुनुहुन्छ। विराटनगर जाने तयारी भए देखि नै मिडियाको ‘हट केक’ बनाइनु भएकी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा दुई दिन बसेपछि त झन् उहाँ मिडियाको सर्वाधिक खोजीको पात्र बन्नुभएको छ। एमाले प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको विज्ञान प्रदर्शनी उद्घाटन गर्न बिर्तामोड पुगेपछि एक थरीले भण्डारीलाई ‘एमालेको अध्यक्ष’ भइसकेको रूपमा चित्रण गरे। विराटनगरमा उहाँले बेला भएपछि एमालेको अध्यक्ष हुन्छु भन्ने अभिव्यक्तिको दृष्टान्तलाई आधार मान्दै झापामा दुई दिन बसेर अध्यक्ष ओलीलाई काउन्टर दिएको अर्थ पनि लगाउन भ्याए। मिडियाका विषयवस्तु हेर्दा उहाँ एमालेको अध्यक्षको कुर्सीमा मात्र बस्न बाँकी रहेको भाष्य बन्यो, बनाइयो।
के झापामा उहाँले साँच्चिकै एमालेको राजनीतिमा होमिने,आगामी महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेदवार हुने,महाधिवेशनमा सहयोग गर्न नेता कार्यकर्तालाई आहवन गर्ने काम गर्नुभयो त ? भण्डारीसँगै दुई दिन झापामा बिताएका केही नेताहरूसँग मैले सोधखोज गरेको थिएँ। उहाँका कुनै बेलाका सहयात्रीहरू र कार्यकर्ता समेतले भण्डारीले पार्टी राजनीतिको विषयमा कुनै प्रसङ्गै ननिकालेको भनाइ छ। ‘दुई दिनको कार्यक्रममा म पुरै समय उहाँसँगै थिए। धेरै वटा भेटघाट भयो। तर कसैसँग पनि उहाँले राजनीतिको चर्चा परिचर्चा गर्नुभएन’ अनेम सङ्घकी उपाध्यक्ष मेनुका काफ्लेले भन्नुभयो ‘उहाँले अनेम संघसँग भेटघाट नभएको धेरै भयो । मेरो घरै अनेमसंघ जस्तो लाग्छ। तपाईंहरुसँग कुरा गरौं। फोटो खिचौं भनेरै पनि यहाँ आउने समय मिलाएकी हुँ।’
एमाले झापाका सबै नेताहरुले यो वा त्यो समुह नभनिकन भण्डारीलाई राष्ट्र र पार्टीको अभिभावकका रुपमा भेटघाट गरे । समय व्यवस्थापन गरेर अधिक नेता कार्यकर्ता भेट्न भण्डारीले चाहना राखेको कसैबाट छिपेको छैन। झापामा कोहीकसैसँग पनि उहाँले राजनीतिक विषयमा कुरा नगरेको एमालेका नेताहरु बताउछन्। भण्डारी झापा गएकोमा एमालेका नेता कार्यकर्ता खुशी देखिन्थे। उनीहरु कसैले पनि भण्डारीलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिष्पर्धीको रुपमा होइन एकजना अभिभावकको रुपमा जिल्लामा आइदिएकोमा खुशी व्यक्त गरेका थिए। ‘अघिल्ला राष्ट्रपति रामवरण यादवको सामाजिक सक्रियता यति बाक्लो नभएकोले उहाँसँग तुलना गरेर विद्या भण्डारीलाई राजनीतिमा आउन लागिन्,आइसकिन्,एमालेको अध्यक्ष हुनै लागिन् जस्ता अनुमान गरिएका हुन्’ भण्डारीसँग दुई दिन बिताएकी अर्की एमाले नेता भन्छिन् ‘यसबीचमा उहाँले पार्टीको सामान्य हालखबर सोध्नुभयो। बाँकी समय बरु नेता कार्यकर्ताको पारिवारिक अवस्था आदि सोधेर समय बिताउनुभयो।’

एमालेकै एक जना पुराना नेता एवं मदन भण्डारी फाउन्डेसन झापाका अध्यक्ष हरिचरण सिवाकोटीले सामूहिक भेटघाट कै क्रममा सोध्नुभयो ‘तपाईँ राजनीतिमा आउने कुरा के हो ?’ जवाफमा भण्डारीले ‘अहिले त्यस्तो चाहना छैन। भविष्य के हुन्छ थाहा छैन’ भन्ने जवाफ दिनुभयो। सिवाकोटीका अनुसार आफ्नो प्रश्नमा भण्डारीले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै उहाँसँगको सल्लाह बिना कुनै निर्णय नहुने प्रस्ट बताउनुभएको थियो। ‘उहाँसँगको सल्लाहबिना केही पनि हुँदैन। अहिले यो चर्चाको विषय होइन भन्नुभयो’ भण्डारीले भन्नुभयो। आफू विराटनगरबाट झापातिर लागेपछि काठमाडौँका सञ्चार माध्यमले प्रकाशन प्रसारण गरेका समाचार हेरेर भण्डारीले आश्चर्य प्रकट गर्नुभएको थियो। अनलाइनमा आएका समाचार आफूलाई भेट्न आउनेहरूलाई मोबाइलमा देखाउँदै उहाँले भन्नुभयो ‘यी हेर्नुहोस् । म यता आएपछि मिडियामा के के समाचार आएछन्। मैले भन्दै नभनेका र सोच्दै नसोचेका कुरा पनि छापिएका रहेछन्।’
नेता कार्यकर्ताहरूको सामूहिक भेटघाटमा सँगै रहेकी झापाकी एक पत्रकारका अनुसार उहाँले प्रधानमन्त्रीको आलोचना होइन कार्यकर्तासँग प्रशंसा नै गर्नुभएको थियो। कार्यकर्ताको मनोभावना बुझेर उहाँले, ‘अहिले एमाले राम्रो ढङ्गले चलेको छ। अरूको नेतृत्व र केपी ओलीको नेतृत्वलाई तुलना गर्नुहोस्। उहाँबाट निराश हुनुपर्ने केही छैन। चारैतिरबाट घेराबन्दी गरेका छन्। तर पनि उहाँले सबैलाई चित्त बुझाएर देश र पार्टीको नेतृत्व गरिरहनु भएको छ। ’ त्यस भेटघाटमा त उहाँले पार्टीको राजनीतिमा आएर नेतृत्वमा बस्ने आफ्ना चाहना नभएको बताउनुभयो। भण्डारीले यसो भनिरहँदा एक जना गाउँपालिका स्तरका युवा नेताले सोधेका थिए, ‘तपाईँ एमालेको अध्यक्ष हुने भनेर मिडियामा आएका समाचार के हुन् त ?’ ती युवा नेतालाई भण्डारीले हाँस्दै जवाफ दिनुभयो ‘नेपाल प्रेस फ्रिडम भएको देश हो।’
बिर्तामोडमा रहेको सुविधा सम्पन्न होटेल सिद्धार्थमा दुई रात बिताएकी भण्डारीले विराटनगर फर्कने क्रममा एमाले नेता एवं झापा ४ का सांसद एलपि साँवाले सञ्चालन गरेको सोलार प्रोजेक्ट झापा इनर्जी पनि निरीक्षण गर्नुभयो । पूर्वपश्चिम राजमार्गको दुधेबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको सो प्रोजेक्टको निरीक्षण गरेर भण्डारी हुलाकी सडकबाट विराटनगर फर्कनुभयो । ‘झापा इनर्जीको शिलान्यास सभामुख देवराज घिमिरेले गर्नुभएको थियो भने उदटन प्रधानमन्त्री केपी शर्मा ओलीले’ अनेम सङ्घकी उपाध्यक्ष काफ्लेले भन्नुभयो ‘एलपीजीले पूर्व राष्ट्रपतिलाई निरीक्षण गराउन लैजाने प्रस्ताव गर्नुभयो । उहाँले हुन्छ भन्नुभयो । यसमा अन्यथा केही पनि होइन।’

भण्डारीको सवारीमा अक्सर सँगै रहेका एमाले मोरङका सचिव सोमराज थापाका अनुसार पूर्वा पश्चिम राजमार्गमा लेन बिस्तारको क्रममा रहेकोले खाल्डाखुल्डी धेरै छन् , जसले गर्दा यात्रामा कठिनाइ हुन्छ भनेर हुलाकी सडकबाट भण्डारीको सवारी चलाइएको हो। ‘हुलाकी सडक अहिले हेरिरहु परेको छ। नयाँ सडक छ। सवारी चाप पनि छैन। फाँटिला खेतको बीचबाट सडक बनाइएको छ। उहाँलाई पनि नयाँ भूगोलको जानकारी हुन्छ। यात्रा पनि रमाइलो हुन्छ भनेर हुलाकीको बाटो ल्याएको हो’ थापाले यो बेलासँग भन्नुभयो ‘हुलाकी सडकको रतुवा खोलामा अहिले पुल बनेछ। उहाँले गाडी ‘स्लो’ गर्न लगाएर त्यो पुल पनि हेर्नुभयो। सडकको अवस्था देखेर उहाँ खुशी पनि हुनुभयो। रंगेलीमा पुगेपछि त उहाँले देश विकास यसरी भइरहेको छ। मान्छेहरु केही भएको छैन भनेर हल्ला गर्छन् पनि भन्नुभयो।’
भण्डारी आज कर्मघर इटहरा जाँदै हुनुुहुन्छ। रतुवामाई नगरपालिका वडा नं ९ इटहरामा रहेको मदन भण्डारीको घरमा आजको दिन बिताउने कार्यक्रम छ। भण्डारीसँगै रहनु भएका एमालेका उपाध्यक्ष गुरु बरालका अनुसार विराटनगर झरेको पाँचौं दिन भण्डारी भोली काठमाडौं फर्कने कार्यक्रम छ।
प्रतिक्रिया