अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती: शंकर पोखरेल

अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अराजकता र अवसरवाद विरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल र मातहतका केन्द्रीय निकाय, घटक संघ तथा प्रदेशका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी भित्र सांगठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको बताउनुभयो। ‘हाम्रो भित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो’, महासचिव पोखरेलले भन्नुभयो।

नेकपा एमाले समाजवादको लक्ष बोकेर हिँडेको पार्टी भएको बताउँदै महासचिव पोखरेलले समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र सांगठनिक एकता आवश्यक रहेको बताउनुभयो। उहाँले समाजवादलाई गरिबी र दरिद्रता होइन, ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गर्नुभयो। समाजवादलाई बुझ्न नसक्दा दरिद्रता र गरिबीलाई बाँड्ने कुरा समाजवाद भनेर भ्रम फैलिएको बताउँदै उहाँले समाजवाद भनेकै समृद्धि र सुख भएको स्पष्ट पार्नुभयो। समृद्ध नेपाल, सुखी नेपालीले समाजवादका आधार तयार पार्ने उहाँले बताउनुभयो।

महासचिव पोखरेलले हाल नेपाली समाज निर्वाहमूलक अर्थतन्त्रमा रहेको भन्दै नेपाली अहिले पूर्ण पुँजीवादको अवस्थामा समेत नपुगेको बताउनुभयो। अहिले पनि नेपाली समाजमा निर्वाहमुखी पछौटे सोच रहेको उहाँको धारणा छ। ‘यस्तो पछौटे सोचले मुलुकको विकास हुँदैन,सोच परिवर्तन गर्नै पर्छ’, महासचिव पोखरेलले भन्नुभयो।

उहाँले एमालेमाथि राजावादी, आफूलाई कम्युनिष्ट भनेर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने, अराजकतावादी र विदेशी शक्तिहरूले आक्रमण गरिरहेका उल्लेख गर्नुभयो । उनीहरूले आक्रमण गर्नु स्वाभाविक भएको बताउँदै पोखरेलले त्यसबाट डराउनु नपर्ने बताउनुभयो । त्यसको प्रतिवाद किन भइरहेको छैन भन्ने कुरा भने चिन्ताको विषय भएको पोखरेलको भनाइ छ। ती आक्रमण प्रतिवाद गर्ने कुरामा पार्टीका कार्यकर्ता कमजोर देखिएका उहाँले बताउनुभयो। ‘यी चारवटा चुनौतीसँग एकैसाथ लड्नुपरेको छ, एमाले बलियो नहुँदासम्म हाम्रो भविष्य सुरक्षित हुँदैन’, उहाँले भन्नुभयो।

लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताउँदै अहिलेका सबे योगदान लोकतन्त्रको उपलब्धि भएको दाबी गर्नुभयो । तथापि राजनीतिक अस्थिरताको कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको उहाँले स्विकार्नुभयो । ‘राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ,त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो’, उहाँले भन्नुभयो ।