झापा- नेपालका लागि चीनका राजदूत छन सोङ मंगलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी छन्।
राजदूत छनले मंगलबार अर्जुनधारा–१० कालीझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन गरे भने आज अर्जुनधारा–६ स्थित गाई फार्म र अर्जुनधारा–१० स्थित माछा फार्मको अवलोकन गर्ने कार्यक्रम रहेको चिनियाँ राजदूतको भ्रमणमा संयोजकको भूमिका निर्वाह गरिरहेका सभामुख देवराज घिमिरेका स्वकीयसचिव केशव ढुंगेलले जानकारी दिनुभयो। ‘उहाँहरूले लगानीको सम्भावित क्षेत्रबारे जानकारी लिँदै स्थलगत अवलोकन गरिरहनुभएको छ’, ढुंगेलले भन्नुभयो।
१ हजार ९०० विद्यार्थीलाई सहयोग
बिर्तामोड र अर्जुनधारा नगरपालिकाका १ हजार ९०० विद्यार्थीलाई चिनियाँ राजदूत छनले शैक्षिक सामग्री प्रदान गरेका छन्। अर्जुनधारास्थित शनिश्चरे माविका १ हजार ५०० र बिर्तामोडस्थित दुर्गा माविको चार सय विद्यार्थीलाई विभिन्न १९ प्रकारका शैक्षिक सामग्री प्रदान गरे।
चिनियाँ राजदूतावासको सहयोगमा बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयमा ५० लाखको लागतमा निर्माण भएको चारकोठे दुईतले भवन निर्माण भएको भवनको राजदूत छन र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा प्रसाईँले उद्घाटन गर्नुभयो।
राजदूत छनले शिक्षा सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले विशेष ध्यान दिनुपर्ने बताउँदै चीनको विकास शिक्षाकै कारण भएको उल्लेख गरे। राजदूत छनले नेपाल र चीनको सम्बन्ध पुरानो रहेका बताउँदै २०७२ सालको भूकम्पपछि नेपालमा विभिन्न स्थानमा १० वटा विद्यालय निर्माण गरेको उल्लेख गरे। नगरप्रमुख प्रसाईँले बिर्तामोडको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायत क्षेत्रमा चीनबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गनुभयो।
नेपाल चीन मैत्री आद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार चिनिया राजदुतले प्रस्तावित पार्कको अवलोकन गर्ने र सरोकारवालासँग अन्तक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।
जस अनुसार अपराह्न ३.४५ बजे एक नम्बर पिलरको अवलोकन त्यसपछि पार्क शिलान्यास स्थलको अवलोकन र ५ बजे रिभरभ्यू पार्टी प्यालेसमा सरोकारवालासँग अन्तक्रिया कार्यक्तम राखिएको छ ।
प्रतिक्रिया