काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। काठमाडौंकाे कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको समय सरेको हो।
अब भोलि (बिहीबार) बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।
आज मतदान हुने भनिएकोमा प्राविधिक व्यवस्थापनका कारण भन्दै भोलि (बिहीबार) बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ। यसअघि आज राति ८ बजेदेखि मतदानको कार्यतालिका थियो। निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय भोलीका लागि सारेको हो।
२०३ पदका लागि ५२१ जनाको उम्मेदवारी परेको छ। अनेरास्ववियको अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ। दुई उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ। खुल्ला उपाध्यक्ष तर्फ भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ।
त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ।
महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ। उपमहासचिव पदमा अमर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ। सचिवको लागि भने ३६ जनाको उम्मेदवारी परेको छ।
महाधिवेशनमा १ हजार ५ सय ३४ प्रतिनिधि छन् । १ सय ५१ पदको लागि ५ सय २१ जनाले मनोनयन दर्ता गरेका छन्।
अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ। यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ। नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो ।
प्रतिक्रिया