अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्षको नीतिअनुसार एमाले सुदृढ र लोकप्रिय बन्न सफलः ईश्वर पोखरेल

अध्यक्षको नीतिअनुसार एमाले सुदृढ र लोकप्रिय बन्न सफलः ईश्वर पोखरेल


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताउनुभएको छ।

राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रिकीकरणको बाटोमा ठिक ढङ्गबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट पार्नुभयो।

पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उहाँले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टिकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताएउनुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भन्नुभयो, ‘हाम्रो पार्टीभित्र लोकतान्त्रिकीकरणको अगुवाइ गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउने कामको नेतृत्वदायी भूमिका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो, विगतमा उहाँकै विचारबाट निर्देशित भइ अगाडि बढ्ने सिलसिलामा पार्टीभित्र लोकतान्त्रिकीकरणको अभ्यास चलेको हो।’

सोही मान्यतालाई अघि बढाउने सिलसिलामा नेतृत्व दुई कार्यकाल र ७० वर्ष उमेरहदका विषय ल्याइएको उनको भनाइ छ । पार्टीको नवौँ र दशौँ महाधिवेशन तथा यसअघिका विधान महाधिवेशनमा पनि छलफल भएको विषय भएको उल्लेख गर्दै उनले यसबीचमा एमालेबाटै विभाजित भएर समाजवादीमा जानुभएका साथीहरु फर्कन उमेर हदको सीमाले केही व्यवहारिक अप्ठ्यारो भएको बताउनुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु हामी सबैको कर्तव्य हो। आउने महाधिवेशनले के निर्णय गर्छ। अनि मात्र स्थापित र निर्णित विषयलाई पनि लिएर जान सकिन्छ। महाधिवेशनले गरेका ‘लेजिटिमेसी’को विषयको आगामी महाधिवशेन नआइ उठाउन सान्दर्भिक हुन्न, यो हामी सबैले बुझेकै विषय हो।’

कांग्रेस-एमालेबीचको सहकार्य

नेपालको राजनीतिका महत्वपूर्ण मोडमा उद्धार प्रजातान्त्रिक पक्षधर नेपाली कांग्रेस र श्रमजीवी वर्गको विचार बोक्ने एमालेका बीचमा सहकार्य हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले २००७ सालमा प्रजातन्त्र ल्याउन, २०१७ सालको प्रजातन्त्र विरोधी अभियानको प्रतिकार गर्न, २०३६ को जनमत सङ्ग्रह गराउन, २०४६ को जनआन्दोलनलाई निर्णयमा पुर्‍याउन, विसं २०६२/६३ को प्रतिगमनविरुद्धको आन्दोलनलाई निष्कर्ष पुर्‍याउन र संविधानसभाबाट संविधान जारी गर्ने सन्दर्भमा एमाले र कांग्रेसबीच सहकार्य भएको स्पष्ट पार्नुभयो।

उहाँले मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन गर्न र राष्ट्रिय सङ्कट परेका बेलामा देशलाई जोगाउन दुई ठूला रानीतिक पार्टीबीच समझदारी हुने गरेको भएपनि एमाले र कांग्रेस एक–अर्काबीच प्रतिस्पर्धी शक्ति हुन् भन्ने पक्ष बुझन जरुरी छ भन्नुभयो । अहिले बढ्दो राजनीतिक अस्थिरता अन्त्य गर्न र  मुुलुकको अर्थतन्त्र सुधार गर्न प्रमुख शक्तिबीच सहकार्य गरिएको स्पष्ट गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “विसं २०४७ सम्म र पछि नयाँ संविधान जारी नभएसम्मको परिस्थितिलाई हामीले बुझ्न आवश्यक छ। २०७२ साल पछिका कालखण्डको तस्बिर हेर्दा थाहा हुन्छ। यसबीचमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, प्रतिव्यक्ति आम्दानी, गरिबीको रेखामुनि रहेका जनताको प्रतिशतमा आएको सुधारलाई लिन सकिन्छ, होला अपेक्षा गरिएअनुसारका काम नभएपनि पछिल्ला दिनमा देशमा उल्लेखनीय काम भएका छन्, जिम्मेवार सबै पक्षको समन्वय र सहकार्यमा मुलुकको विकास र समृद्धिलाई अझ गति दिन आवश्यक छ।