विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले अबका १५ वर्षपछि देशमा गरिब नरहने बताउनुभएकाे छ। प्रधानमन्त्री ओलीले मुलुकको गरिबी अन्त्यलाई सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयाे।
झापा र मोरङको बिचमा बनेको रतुवामाईमा निर्माण सम्पन्न रतुवा पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनलगायतका क्षेत्रको तीव्र विकासमार्फत मुलुकलाई समृद्ध बनाउने स्पष्ट संकल्प व्यक्त गर्नुभयाे।
प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘यहाँको गरिबी अन्त्य गर्नुपर्छ। अब हामी आधुनिक र विकसित मुलुकतर्फ बढ्नुपर्छ।’
प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई त्यसको आधारका रूपमा प्रस्तुत गर्दै पुल, सडक, विद्युत, सञ्चार, सूचना प्रविधि लगायतका क्षेत्रमा देशले उल्लेखनीय प्रगति गरिसकेको बताउनुभयाे। प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘अब हामीसँग न विद्युतको कमी छ, न सञ्चार सुविधाको, सूचना प्रविधिमा त हामी सेवा नै दुनियाँलाई बेचिरहेका छौं। त्यसको दुरुपयोग पनि केही भएको होला, तर हाम्रो देशका धेरै नागरिकले राम्रो काम गरिरहेका छन्। बाटो थिएन, बाटो बनेको छ, पुल थिएन, पुल बनेको छ।’
अरु पनि सिंचाइ आयोजना लगायतका पूर्वाधार निर्माण गरिने प्रधानमन्त्री ओलीले बताउनुभयाे। उहाँले वर्तमान सरकारको लक्ष्य मुलुकलाई आधुनिक र विकसित बनाउने रहेको उल्लेख गर्नुभयाे।
प्रधानमन्त्री ओलीले भन्नुभयाे ‘अब त हामीसँग विद्युत छ, सञ्चार सेवामा प्रगति भएको छ, सूचना प्रविधिमा सेवा निर्यात गरिरहेका छौं।’
प्रधानमन्त्री ओलीले कार्यक्रममा गाउँपालिकाका अध्यक्षबाट प्राप्त ज्ञापनपत्रको उल्लेख गर्दै, त्यसमा उठाइएका सुझावप्रति ध्यान दिने आश्वासन पनि दिनुभयाे। उहाँले भन्रनुभयाे, ‘म त्यही संकल्प, प्रतिबद्धता र तीव्र इच्छाशक्ति लिएर अगाडि बढिरहेको छु, तपाईंहरू पनि त्यसैगरी अघि बढ्नुपर्छ।’
कार्यक्रममा उहाँले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट भएकोमा प्रसन्नता व्यक्त गर्दै सबैलाई धन्यवाद पनि दिनुभयाे।
झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल १७ वर्षपछि सम्पन्न भएको हो।
२०७९ पुस १७ गते देव एण्ड सायररसमतारआशिषदीप जेभी कम्पनीसँग २२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार २०८१ असार १७ गतेभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न गरेको हो।
यसअघि आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीले १० करोड ३२ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको थियो। पुलको कुल लम्बाइ ३४८ मिटर रहे पनि सो कम्पनीले मात्र २०४.८ मिटर निर्माण गरेर काम अलपत्र छाडेको थियो।
नयाँ ठेकेदार कम्पनीले बाँकी काम सम्पन्न गरी पुललाई सञ्चालनमा ल्याईएकाे हाे।
कनकाइ खोला पुलको निर्माण पनि सम्पन्न भएपछि मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सञ्चालनमा सहजता आउनेछ। विराटनगर तर्फकाे ८ किलोमिटर सडक अझै अलपत्र अबस्थामा रहेकाे मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयाे । त्यसलाई तत्काल निर्मण पूरा गर्न आग्रह गर्नुभयाे।
पुरानो ठेकेदार कम्पनीको लापरवाहीका कारण १७ वर्षसम्म अलपत्र परेको पुल अन्ततः निर्माण सम्पन्न भएपछि स्थानीयवासीले राहत महसूस गरेका छन्।






प्रतिक्रिया