अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ: सभामुख घिमिरे

भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ: सभामुख घिमिरे


झापा-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ।

अर्जुनधारा नगरपालिकामा आज अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्बाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताउनुभयो।

सभामुख घिमिरे सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महङ्गो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गर्नुभयो। वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको बताउनुभयो।

‘धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,’ सभामुख घिमिरे भन्नुभयो, ‘कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ।’ सभामुख घिमिरेले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको चर्चा गर्नुभयो।

अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई आज जग्गाको धनीपूर्जा वितरण गरिएको छ। सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गर्नुभएको थियो।