काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनु सकारात्मक भएको सो पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन्।
अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो। पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उहाँहरूबीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग पुग्ने ठानिएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले शनिबारको पोलिटब्यूरो बैठकमा दिनुुभएको जानकारीबमोजिम पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको र यो सकारात्मक रहेको पत्रकारहरूलाई बताउनुभयो।उहाँले पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको कुरा पार्टी महासचिवबाटै सार्वजनिक भइसकेको जिकिर गर्नुभयो।
एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि हुने भएकाले पनि त्यसको अघिल्लो दिन उहाँहरूबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।
पार्टी सचिव योगेश भट्टराईले पार्टीभित्र यो कित्ता र त्यो कित्ताका हिसाबले गरिने व्यवहार उचित नहुने भन्दै बाहिर विवाद बढाउनुभन्दा पार्टी नेतृत्व र पूर्वराष्ट्रपतिबीच सौहार्द छलफलबाट विषयको टुङ्गो लाग्नुपर्नेमा जोड दिनुभयो।
केन्द्रीय कमिटी बैठकमा आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसहितका प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको जनाइएको छ।







प्रतिक्रिया