अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङको निसीखोला गाउँपालिकामा २ हजार ४३८ घर बाढीपहिरोको जोखिममा

बागलुङको निसीखोला गाउँपालिकामा २ हजार ४३८ घर बाढीपहिरोको जोखिममा


बागलुङ-बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन्। भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन्। 

सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नम्बर १ बाढीपहिरोको जोखिममा परेको छ। यस वडामा मात्रै ९ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयाे। 

विसं २०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन्। गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं २ मा दुई सय सात, वडा नं ३ मा एक सय ४०, वडा नं ४ मा चार सय, वडा नं ५ मा एक सय ७०, वडा नं ६ मा ३१ र वडा नं ७ मा पाँच सय ७० घर पहिरोको जोखिममा छन्।

पहिरोले गाउँनै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नु परेको निसीखोला–१ हुल्दीकी हुमकुमारी मल्लले बताउनुभयाे। गाउँको बीचमा एउटा ठूलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उहाँको भनाइ छ। 

आठ वर्ष अगाडिसम्म उक्त पहिरोले गाउँमा ठूलो क्षति नपुर्‍याएको बताउँदै विसं २०७५ देखि त्यसको असले गर्दा गाउँका विभिन्न स्थानमा जमिन भासिने र चिरिने गरेको मल्लले जानकारी दिनुभयाे। 

‘हामीहरू पहिरोका कारण ज्यान कसरी बचाउने भन्ने चिन्तामा छौँ, हिउँदको समय घरमा सुखले बस्छौँ, बर्खाको समयमा ठूलो वर्षा हुने वित्तिकै गाउँ छोडेर भाग्नुपर्छ’, मल्लले भन्नुभयाे, ‘गाउँभन्दामाथि दह भन्ने छ, त्यहाँ गाईभैँसी गोठ छन्, त्यही गएर बस्ने गर्छौँ, गाउँपालिकामा धेरै पटक समस्याबारे जानकारी गरायौँ, केन्द्र र प्रदेश सरकारलाई पनि जानकारी गराएका छौँ, अहिलेसम्म हाम्रो समस्या समाधानका लागि कुनै सम्बोधन भएको छैन।’

निसीखोला–२ का पदमबहादुर विकले गाउँमा बाहेक अरु ठाउँमा जग्गा जमिन नहुँदा जोखिममा बस्नु परेको बताउनुभयाे। ठूलो पानी पर्‍यो भने सबै सरसामान बोकेर घर बाहिर निस्कने गरेको उहाँको भनाइ छ। 

हुने खाने बसाइँसराइ सरेर तराईतिर झरेका भन्दै उहाँले आर्थिक अवस्था कमजोर भएका गाउँमै बसेका बताउनुभयाे। सरोकार भएका निकायलाई गाउँको समस्याका बारेमा पटकपटक जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको उहाँको गुनासो छ।

निसीखोला गाउँपालिकाका अध्यक्ष मगरले जोखिममा रहेका बस्ती स्थान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेको बताए। जनता आवास कार्यक्रमअन्तर्गत केही नागरिकलाई सुरक्षित स्थानमा सारेर घर निर्माण गरिएको छ।

अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढीपहिरोबाट यहाँका नागरिकले दुःख पाउँदै आएका उल्लेख गर्दै अध्यक्ष मगरले त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइरहेको जानकारी दिनुभयाे। 

Skip This