अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलहरूले विगतको कमजोरी सुधार गर्नुको विकल्प छैन: सुनिता डंगोल

दलहरूले विगतको कमजोरी सुधार गर्नुको विकल्प छैन: सुनिता डंगोल


काठमाडौँ-काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले  २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा जनधनको क्षति, तोडफोड  र आगजनी गर्ने कार्यमा संलग्न रहेकामाथि निष्पक्ष, सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक रहेको बताउनुभएको छ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत् उपप्रमुख डंगोलले यस्तो बताउनु भएको हो।

जेनजी पुस्ताले सुरु गरेको प्रदर्शन आक्रोश मात्र नभई परिवर्तनको माग समेत भएको उपप्रमुख डंगोलले बताउनुभयो। उपप्रमुख डंगोलले भन्नुभयो, जेन्जी पुस्ताले सुरु गरेको भ्रष्टाचार विरुद्ध सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग हो। आन्दोलनको क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निश्पक्ष सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक छ।’

उपप्रमुख डंगोलले सहिदले लेखेको इतिहासलाई बिर्सन नसकिने बताउनुभएको छ। उहाँले सहिदको बलिदान खेर जान नहुने समेत बताउनुभयो। उपप्रमुख डंगोलले भन्नुभयो, ‘सहिदको रगतले लेखेको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो।’ 

जेनजी प्रदर्शनमा ज्यान गुमाएका परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भएपनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने समेत उपप्रमुख डंगोलले बताउनुभयो।

उपप्रमुख डंगोलले भन्नुभयो, ‘राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ती परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भए पनि कानूनी कारबाहीको दायरामा आउनुपर्छ।’

दलहरूले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको उपप्रमुख डंगोलले बताउनुभयो।

‘अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ। दलहरुले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको अर्को विकल्प छैन’ उपप्रमुख डंगोलले भन्नुभयो।