काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गर्नुभएकाे छ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको शनिबार स्थलगत निरीक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताउनु भएकाे हाे।
‘नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ। यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकारवालाले लगानीमैत्री वातावरण कायम गर्नुपर्छ’ अध्यक्ष ढकालले भन्नुभयाे । उहाँले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यावसायिक सम्पत्तिमाथि आक्रमण भएको, जसले दैनिक उत्पादन र रोजगारीमा प्रत्यक्ष असर पारेको बताउनुभयाे ।
नेपालमा वैदेशिक तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गर्दै आएको भए पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जाने अवस्था बनेको अध्यक्ष ढकालले बताउनुभयाे।
महासंघका अनुसार, नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी छ। यस्तो अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको शान्ति र सुरक्षाको प्रत्याभूति अनिवार्य रहेको महासंघले जनाएको छ । यसअघि महासंघले अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको उचित छानबिन, दोषीमाथि कानूनी कारबाही र लगानीमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरिसकेको छ ।







प्रतिक्रिया