काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिने भएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन्। राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन्।
मन्त्रीमा सिफारिस भएपछि पुनले बधाई र औपचारिक सम्मानमा समय खर्च नगर्न आग्रह गर्दै सिधै कामको सुझाव पठाउन सार्वजनिक अपिल गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै कसैलाई पनि फोनमा ‘बधाई छ’ नभन्न र खादा वा माला लिएर भेट्न नआउन आग्रह गर्नुभएको छ। ‘मेरो पहिलो घोषणा- कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोला।’सामाजिक सञ्जालमा लेख्नुभएको छ।
पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगरिदिन पनि आग्रह गर्नुभएको छ। यदि कसैलाई मन्त्री नै भन्न मन लागेमा ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न अनुरोध गर्नुभएको छ।

को हुन् पुन
महावीर पुन म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मिएका हुन्। १२ वर्ष शिक्षकको रूपमा काम गरेपछि पुनले अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरेका थिए। सन् १९९२ मा नेपाल फर्केपछि आफ्नो गाउँमा शिक्षा र प्रविधिको पहुँच विस्तार गर्ने काम थालेका पुनले राष्ट्रिय आविष्कार केन्द्रको संस्थापक अध्यक्षको रूपमा पनि काम गरिसकेका छन्।
पुनको योगदानका लागि सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार प्राप्त गरेका थिए भने नेपाल सरकारले २०७९ सालमा उनलाई १ करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो। नवप्रवर्तनका अभियन्ता भनेर चिनिने महावीर पुनले आफ्नो जीवनकथा ‘महावीर पुन’ पनि लेखिसकेका छन्।
यस नियुक्तिसँगै शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा नवप्रवर्तन र विकासको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया