काठमाडौं-नेपाली कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुवैपक्षको बहस सकिएको हो। आजै आदेश आउने सम्भावना छ।
गगन थापापक्षको तर्फबाट हरिहर दाहाल, सिताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाला, दिनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल, यदुनाथ खनालसहितले बहस गरेका हुन्। देउवापक्षबाट रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीसहितले बहस गरेका छन् ।
गगन र देउवा दुवैपक्ष आधिकारिकता पाउनेमा विश्वस्त छन् । देउवापक्षले विशेषको प्रक्रिया नै नपुगेकोले अदालतबाट आफूहरूले न्याय पाउने विश्वासमा छन् । विशेषपक्ष देउवापक्षको निवेदन नै खारेज हुने आदेश आउने आशामा छ ।
पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवापक्षधरले आयोगको निर्णय संविधान, कांग्रेसको विधान, निर्वाचनसम्बन्धी कानुन र पूर्वनजीरविपरीत भएको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए ।
साथै १५ औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै अर्को रिट पनि देउवापक्षले दायर गरेको थियो । मुद्दामा शुक्रबार नै आदेश दिनेगरी विपक्षीलाई साढे तीन बजेभित्र बहस सक्न भनिएको थियो ।






प्रतिक्रिया