काठमाडौं-राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मुल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन्।
धर्नाका साथै ज्ञापन पत्र बुझाउन युवाहरू त्यहाँ पुगेका थिए। प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरूलाई त्यहाँबाट हटाएको हो। प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरूले प्रहरी दमन मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर लगाएतका नाराबाजी गर्दै प्रदर्शन गरे।
अभियानका सह-संयोजक अजय सोडारीले आफूहरू समन्वय गरेर नै ज्ञापन पत्र बुझाउन आउँदा प्रहरीले हस्तक्षेप गरेको बताए। पेट्रोलियम पदार्थको मुल्यवृद्धिको असर सवैतिर देखिएको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
सोडारीले छिमेकी देशमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाए। युवाहरूले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।







प्रतिक्रिया