अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको माग

सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको माग


काठमाडौँ-सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन र सूचना उपलब्ध नगराउने गरी गरेको निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले कडा आपत्ति जनाएको छ। 

जसपाका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै निजी सञ्चारमाध्यमहरू लोकतन्त्रको महत्त्वपूर्ण स्तम्भ भएको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सङ्घीय मन्त्रालय, आयोग, सचिवालयसहित प्रदेश र स्थानीय तहलाई समेत सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन र प्रसारण गर्न जारी गरेको परिपत्रलाई पार्टीले प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भनेको हो।

अध्यक्ष यादवले भनेका छन्, ‘सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु भनेको स्वतन्त्र पत्रकारितालाई नियन्त्रणमा राख्ने प्रयास हो, जुन लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ। अतः जसपा नेपाल सरकारलाई उक्त निर्णय तुरुन्त फिर्ता लिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सञ्चारमैत्री नीति अवलम्बन गर्न जोडदार माग गर्दछु।’

विज्ञप्तिमा उल्लेख भएअनुसार अहिलेको आर्थिक सङ्कटको समयमा निजी सञ्चारमाध्यमहरू मारमा परिरहेका बेला सरकारले झन् तिनीहरूको रोजीरोटी खोस्ने काम गरेको छ । सरकारी विज्ञापनमा रोक लगाउँदा कतिपय सञ्चारमाध्यमहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरू बेरोजगार हुने स्थिति सिर्जना भएकोमा जसपाले चिन्ता व्यक्त गरेको छ। सरकारको यो कदमले अप्रत्यक्ष रूपमा प्रेस सेन्सरसिपको अवस्था निम्त्याउने र आवाजविहीनहरूको आवाज बनेर काम गरिरहेको स्वतन्त्र पत्रकारितालाई धराशायी बनाउने जसपाको दाबी छ।