शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने बताएका छन्।
सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले त्रिवि क्रिकेट मैदानबारे सोधेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले नभत्काइने बताएका हुन्। ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन्, भत्किने भन्ने हुँदैन,’ मन्त्री पोखरेलले भने।
त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न पत्राचार गरेको छ। यसैक्रममा नेपाल क्रिकेट संघ (क्यान)लाई पनि पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ।
मन्त्री पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिटै हुने बताए। ‘आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो । सकारात्मक कुरा भएको छ । खाली गराउने हैन । भाडा सम्झौता रिन्यू गर्ने हो ।राज्यका यत्रो लगानी भएको छ,’ उनले भने, ‘राज्यकै संरचना हो । लिज पुन: एग्रिमेन्ट चाहिँ गराउनुपर्नेछ ।’
सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।
त्रिवि र क्यानबीचको सम्झौता यहि महिनामा सकिँदै छ। क्रिकेट प्रतियोगिताका कारण पढाइमा असर पुगेको भन्दै त्रिविले सम्झौता थप नगर्ने जनाएको थियो।







प्रतिक्रिया