काठमाडौं-स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा सोमबार पक्राउ गरेको हो।
हाल स्मार्ट टेलिकम बन्द रहेको छ। स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट २ वैशाख २०७० मा दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएको थियो । स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले ३ वैशाख २०८० देखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
अनुमतिपत्र स्वतः रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीबमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार र संरचना प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
सरकारको स्वामित्वमा आइसकेको टेलिकमको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्धेश्यका साथ काम गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया