अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रममन्त्री यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

श्रममन्त्री यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ


काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।  

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर-१ बल्थी घर भई हाल राजविराज नगरपालिका वडा नम्बर-३ पाख्रेल टोल बस्ने २७ वर्षीय मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन्। उनलाई सोमबार राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे हाे ।

मियाँ सहितको समूह मिलेर २०८२ फागुन १४ मा राजु कुमार चौधरीलाई अपहरण गरेर लुटपाट गरेको आरोप छ। त्यस दिन बिहान ८ बजेको समयमा राजविराज नगरपालिका वडा नम्बर–३ हनुमान चोकमा मुस्तकिम मियाँ बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलमा थप ३ जना लिएर अपहरण गर्न गएका हुन्। 

दुईवटा मोटरसाइकलमा आएका मियाँको समूहका युवाहरूले बन्दुक देखाएर आफूलाई कब्जामा लिएर राजविराज नगरपालिका–८ स्थित हिमालय राईस मिलको पछाडि पर्वत भन्ने स्थानको सुनसान खाली चौरमा लगेर बन्धक बनाई कुटपिट गरेको पीडितको आरोप छ । 

मियाँलाई विरुद्ध वैशाख २४ मा जिल्ला अदालत सप्तरीले पक्राउ अनुमति दिएको थियो । मुस्तकिम मियाँ समेतका आरोपीहरू विरुद्ध  अपहरण वा शरीर बन्धक र अपमानजनक, अमानवीय व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

मियाँ  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्वकीय सचिवालयको हलुका सवारी चालक पदमा २०८२ चैत २७ मा नियुक्त भएको भेटिएको छ।