काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव स्मरणीय रहने बताएकी छन्।
जेठ ३ गते आइतबार नेकपा एमालेले काठमाडौँको बल्खुमा गरेको मदन-आश्रितको ३३ औँ स्मृति सभालाई सम्बोधन गर्दै मदनपत्नी समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले जबजलाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताउँदै लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रामा यसले महत्वपूर्ण मार्गदर्शन गरेको धारणा राखिन्।
पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गरिन्। उनले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्नेमा जोड दिँदै राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान भएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले)ले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकास यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै पार्टीले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याइन्। साथै कार्यकर्ताहरू जनताको दुःख-सुखमा सहभागी हुनुपर्ने र सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्ने बताइन्।
‘जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पुरा गर्न बाँकी छ’, पूर्वराष्ट्रपति भण्डारीको भनाई छ। भण्डारीले नेताद्धय भण्डारी र आश्रितप्रति सच्चा श्रद्धाञ्जली उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने बताइन्।
सम्बोधनका क्रममा उनले युवापुस्तालाई राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएको बताउँदै शिक्षा, प्रविधि, उद्यमशीलता र उत्पादनसँग युवालाई जोड्न सके विकास र रोजगारीका नयाँ अवसर सिर्जना हुने धारणा राखिन्। युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितले देखेको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली भनेकै उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु भएको बताइन्।






प्रतिक्रिया