काठमाडौँ-नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबीच कुनै पनि किसिमको असमझदारी नरहेको बताएका छन्। उनले पार्टीभित्र आन्तरिक विवाद रहेको भन्दै बाहिर आएका टीकाटिप्पणीहरू प्रायोजित भएको दाबीसमेत गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी कमिटी बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले पार्टी नेतृत्व पूर्ण संवाद र समझदारीका साथ अघि बढिरहेको बताए। शीर्ष नेताहरू तथा पदाधिकारीहरू निरन्तर संवादमा रहेको उल्लेख गर्दै उनले कुनै विषयमा बुझाइको भिन्नता भए पनि छलफलबाटै त्यसलाई समाधान गरिने स्पष्ट पारे ।
नेता विश्वकर्माका अनुसार बैठकले विधानले तोकेको सीमाभित्र रहेर केन्द्रीय कमिटीमा १२ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । समावेशी सन्तुलन कायम गर्दै ६ जना महिला र ६ जना पुरुषलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको उनले जानकारी दिए । अन्य दल परित्याग गरी एमालेमा समाहित भएका धर्मनाथप्रसाद साहलाई पनि केन्द्रीय कमिटीमा समेट्ने निर्णय भएको उनले बताए ।
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो । वडा अधिवेशन, पालिका अधिवेशन तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल गरी निष्कर्ष निकालिएको विश्वकर्माले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका सांगठनिक प्रस्तावमाथि छलफल गरी सर्वसम्मत निर्णय गरिएको उनको भनाइ छ। स्थायी कमिटी बैठक तत्कालका लागि सम्पन्न भए पनि पार्टीको आवश्यकता र उपयुक्त समयअनुसार अध्यक्षले अर्को बैठक आह्वान गर्ने उनले बताए ।
बाँकी सांगठनिक कार्यसूची तथा जिम्मेवारी बाँडफाँटसम्बन्धी विषयलाई आगामी बैठकबाट टुंगो लगाइने पनि विश्वकर्माले स्पष्ट पारे ।



प्रतिक्रिया