काठमाडौं-परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले दाबी गरे।
नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उनको भनाइ थियो ।
नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदुतले सह–अध्यक्षता गर्नेछन् । यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दैछ ।
कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका ७१ जना रहेका छन् ।
प्रवक्ता क्षेत्रीकाअनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी छ ।
यसैबीच, विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया