अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराई क्षेत्रमा आज पनि तातो हावा चल्ने,सजग रहन आग्रह

तराई क्षेत्रमा आज पनि तातो हावा चल्ने,सजग रहन आग्रह


काठमाडौं-देशका केही स्थानमा आजदेखि तीन दिन तातो हावा चल्नेछ । तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा जेठ ६ गतेदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ ।

आगामी तीन दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहनेछ । यी प्रदेशका थोरै स्थानमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहर (हिट वेभ) तथा पहाडी भू–भागमा तातो दिन (हट डेज) हुने सम्भावना रहेकाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।

कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ गर्मी प्रभावित जिल्ला भएकाले सतर्क रहनुपर्ने विभागले प्रस्ट पारेको छ ।

बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु पनि गर्मी हुने भएकाले सचेत हरन विभागले सुझाएको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुने विभागको भनाइ छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने र चर्को घाममा बाहिर ननिस्किन विभागले सुझाएको छ ।

हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले प्रस्ट पारेको छ ।