अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा डोजर त्रास: स्थानीय आन्दोलनमा, वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध

महोत्तरीमा डोजर त्रास: स्थानीय आन्दोलनमा, वन कार्यालयको गाडीमा आगो लगाए, बीपी राजमार्ग अवरुद्ध


महोत्तरी-बस्तीमा डोजर चलाएर हटाउने सरकारी तयारीको विरोधमा महोत्तरीको बर्दिबास नगरपालिका-३ कालापानी क्षेत्र तनावग्रस्त बनेको छ। स्थानीयवासीले बीपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन सुरु गरेका छन् भने वन कार्यालयको एउटा गाडीमा आगजनीसमेत गरेका छन्।

स्थानीयका अनुसार डिभिजन वन कार्यालय महोत्तरीको टोलीले अतिक्रमित क्षेत्रमा रहेका घर खाली गर्न सूचना जारी गरेपछि कालापानीवासी आक्रोशित बनेका हुन्। सोमबार दिउँसोदेखि सुरु भएको विरोध प्रदर्शन रातिसम्म चर्किएको प्रहरीले जनाएको छ।

प्रदर्शनका क्रममा आन्दोलित समूहले डिभिजन वन कार्यालयको एउटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।

‘वन कार्यालयको टोलीले अतिक्रमित क्षेत्रमा पुगेर घर खाली गर्न सूचना दिएपछि स्थानीय आक्रोशित बनेका हुन्,’ डीएसपी गोलेले भने, ‘सोमबार राति वन कार्यालयको एउटा गाडीमा आगजनी भएको छ। अहिले पनि बीपी राजमार्ग अवरुद्ध छ र अवस्था सामान्य बनाउन वार्ताको प्रयास भइरहेको छ।’

स्थिति नियन्त्रण तथा सहमतिका लागि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकुमार सारु मगर तथा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनासहितको सुरक्षा टोली घटनास्थलमै खटिएको प्रहरीले जनाएको छ।

स्थानीयले बस्ती हटाउने निर्णय तत्काल रोक्न र आफूहरूको बसोबासको सुनिश्चितता गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्।