काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला अधिवेशनमा देखिएको विवाद चर्किएपछि असन्तुष्ट कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा धर्ना दिएका छन्।
रास्वपा बाराका नेता तथा कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गर्दै पार्टीको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका हुन्।
जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पार्टी नेतृत्वले मान्यता नदिएको आरोप लगाउँदै कार्यकर्ताहरूले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले अधिवेशनको निष्पक्ष छानबिन गर्न, विवादित निर्णय खारेज गर्न तथा पार्टीको विधानअनुसार पुनः प्रक्रिया अघि बढाउन माग गरेका छन्।
धर्नामा सहभागी नेता–कार्यकर्ताहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्वमाथि अन्याय भएको दाबी गर्दै पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय अगाडि नाराबाजी गर्दै आफूहरूको माग सुनुवाइ नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन्। उनीहरूले बारा जिल्ला अधिवेशनमा भएका घटनाबारे निष्पक्ष छानबिन समिति गठन गर्नसमेत माग गरेका छन्।
कार्यकर्ताहरूका अनुसार २०८३ जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित विजयी भएका थिए । निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको धिराज पटेलले जानकारी दिए ।
उनले उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेखबिनाको साधारण कागजमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन्। कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधार देखाएर पुनः निर्वाचन गराइएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन नउठाइएको भन्दै प्रश्न गरेका छन् ।
यता रास्वपाको केन्द्रीय नेतृत्वले विवादबारे जानकारी लिइरहेको जनाएको छ। पार्टीका नेताहरूले सम्बन्धित पक्षसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक पहल गरिने बताएका छन्।
बारा जिल्ला अधिवेशनमा उत्पन्न विवादका कारण पार्टीभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ भने नेतृत्वमाथि निष्पक्ष र पारदर्शी ढंगले समस्या समाधान गर्न दबाब बढेको छ।



Top of Form
Bottom of Form




प्रतिक्रिया