काठमाडौं– विपक्षी दलहरूले संसद अवरोधबारे यसअघि गरेको निर्णयलाई पुनः दोहोर्याएका छन्। मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म र उनको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने निर्णयलाई निरन्तरता दिएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले विपक्षी दलहरू आफ्नो पुरानै अडानमा कायम रहेको बताए। उनका अनुसार प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाट दिएको विवादास्पद अभिव्यक्तिप्रति विपक्षी दलहरूको गम्भीर आपत्ति रहेको छ।
प्रधानमन्त्री शाहले संसदमा सम्बोधनका क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै लगातार संसद बैठक अवरोध गर्दै आएका छन्।
मंगलबार बसेको संसद बैठक पनि यही विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेका थिए। विपक्षी दलहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसदको आधिकारिक रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।
यसबीच संसदको गतिरोध अन्त्यका लागि सत्ता र विपक्षी दलहरूबीच विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न सकेको छैन।






प्रतिक्रिया