अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा फर्जी मत भेटिएको भन्दै रास्वपा दैलेखको कार्यालयमा लाग्यो ताला

चुनावमा फर्जी मत भेटिएको भन्दै रास्वपा दैलेखको कार्यालयमा लाग्यो ताला


दैलेख-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख जिल्ला कार्य समितिको कार्यालयमा तालाबन्दी गरिएको छ। प्रथम जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न नेतृत्व चयन प्रक्रियामा मतगणनासम्बन्धी विवाद उत्पन्न भएपछि सभापति पदका प्रत्याशी प्रकाश बुढाले पार्टी कार्यालयमा ताला लगाएका हुन्।

आइतबार सम्पन्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदानमार्फत नयाँ जिल्ला कार्यसमिति चयन गरिएको थियो। निर्वाचन समितिले कुल २४० मत खसेको घोषणा गरे पनि सभापति पदका चार उम्मेदवारले प्राप्त गरेको मत जोड्दा २४६ पुगेपछि विवाद सिर्जना भएको हो।

निर्वाचन परिणामअनुसार बखतबहादुर भण्डारी ९३ मत प्राप्त गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी प्रकाश बुढाले ६९, बीनीबहादुर शाहीले ४३ र मित्रराज प्याकुरेलले ४१ मत प्राप्त गरेका थिए। यी सबै मत जोड्दा कुल २४६ पुग्ने भएकाले मतपरिणामको विश्वसनीयतामाथि प्रश्न उठेको बुढाको दाबी छ।

बुढाले निर्वाचन समितिले मतदानसम्बन्धी कागजात मिलाउन वा प्रमाण नष्ट गर्न सक्ने आशंका भएपछि कार्यालयमा तालाबन्दी गर्नुपरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै पार्टीले पारदर्शिता र सुशासनका मूल्यलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।

उनले जिल्ला समितिले आवश्यक छानबिन गर्ने प्रतिबद्धता जनाए तालाबन्दी खोल्न तयार रहेको समेत उल्लेख गरेका छन्।

यता अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले भने निर्वाचनसम्बन्धी सम्पूर्ण कागजात पार्टी कार्यालयमा बुझाइसकेको र आफ्नो काम निष्पक्ष तथा पारदर्शी रहेको दाबी गरेको छ।

घटनापछि रास्वपा दैलेखको नवनिर्वाचित जिल्ला कार्यसमिति विवादमा तानिएको छ भने मतपरिणामको सत्यताबारे छानबिनको माग चर्किएको छ।

Skip This