काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले सरकारले संसद्को गरिमा घटाउने काम गरिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै आचार्यले सांसदहरूले उठाउने जनसरोकारका विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
सांसद आचार्यले प्रतिनिधिसभामा सांसदहरूले जनताका समस्या र जनपक्षीय मुद्दाहरू उठाए पनि ती विषय कार्यान्वयनको तहसम्म नपुग्ने गरेको टिप्पणी गरे।
‘यदि शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ,’ आचार्यले भने, ‘तर यदि जनताका पीडा र सांसदका प्रश्नहरू बोले पनि शून्यमै बिलाउने हुन् भने यसको नाम ‘ब्ल्याक होल समय’ राखौँ।’
‘ब्ल्याक होल’ मा प्रकाशसमेत हराउने वैज्ञानिक तथ्य उल्लेख गर्दै उनले संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी त्यसरी नै हराउन नहुने बताए।
सांसद आचार्यले शून्य समयलाई जनताको पीडा संसद्मा प्रवेश गर्ने संवैधानिक माध्यमका रूपमा व्याख्या गर्दै त्यसपछि ती विषय सम्बोधन हुने प्रभावकारी प्रक्रिया आवश्यक रहेको बताए।
‘शून्य समय जनताको पीडा संसद्मा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि अगाडि बढ्ने बाटो पनि हुनुपर्छ,’ उनले भने, ‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने-यो परम्परा अब अन्त्य हुनुपर्छ।’
सांसद आचार्यले संसद्मा उठाइने विषयलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गरी आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड दिए।






प्रतिक्रिया