काठमाडौँ-परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । त्यसैगरी, बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उनले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनियाँ व्यवसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । परराष्ट्र मन्त्रालयले मन्त्री खनाल १७ जुनमा काठमाडौं फर्कने जनाएको छ।






प्रतिक्रिया