काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको गुमेको जनमत र प्रतिष्ठा पुनःस्थापित गर्ने गरी पार्टी पुनर्गठनको अभियान अघि बढाइने बताएका छन्।
शनिबार काठमाडौँको जडीबुटीमा नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले आम निर्वाचन–२०८२ को वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले छलफलमा सहभागी भई आफ्ना विचार, सुझाव र विश्लेषण प्रस्तुत गर्ने सम्पूर्ण नेता-कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन्।
उपाध्यक्ष पौडेलले पार्टीभित्रबाट आएका सुझाव र अपेक्षाअनुसार आम निर्वाचनको निष्पक्ष समीक्षा गरिने तथा एमालेको जनाधार र प्रतिष्ठा पुनःस्थापित हुने गरी पार्टी पुनर्गठनको जिम्मेवारी पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी नेताहरूले निर्वाचन परिणाम, संगठन सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा आफ्ना धारणा राखेका थिए। एमालेले देशभर निर्वाचन समीक्षा र संगठन पुनर्गठनका कार्यक्रमलाई तीव्रता दिइरहेको जनाएको छ।






प्रतिक्रिया