काठमाडौँ-नेकपा (एमाले)को संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आइतबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा संविधान पुनरावलोकनका सम्बन्धमा एमालेका सर्त, मान्यता र प्राथमिकताबारे विस्तृत छलफल गरिने भएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकले संविधान संशोधन तथा पुनरावलोकनका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने र आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
कार्यदलका संयोजक एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन्। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा तथा डा. राजेन्द्र घिमिरे सदस्य रहेका छन्।
एमालेले संविधान कार्यान्वयनका अनुभव, संघीय शासन प्रणालीको प्रभावकारिता तथा समसामयिक राजनीतिक आवश्यकतालाई आधार बनाएर पुनरावलोकनका विषयमा आफ्नो धारणा तयार पारिरहेको सन्दर्भमा कार्यदलको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। बैठकबाट संविधान संशोधनका सम्भावित एजेन्डा र पार्टीको आधिकारिक दृष्टिकोणबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।






प्रतिक्रिया