अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संविधान संशोधन सुझाव कार्यदल: अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन

एमाले संविधान संशोधन सुझाव कार्यदल: अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन


काठमाडौँ-नेकपा (एमाले)ले संविधान संशोधनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन गठन गरेको ‘संविधान संशोधन सुझाव कार्यदल’को कामलाई तीव्र बनाएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको कार्यदलको पहिलो बैठक आइतबार सम्पन्न भएको हो।

बैठकले संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभव, देखिएका चुनौती तथा सुधार गर्नुपर्ने पक्षहरूको अध्ययन गरी संशोधनका लागि ठोस प्रस्ताव तयार गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

यसैक्रममा संविधान कार्यान्वयनका सबल र कमजोर पक्षको समीक्षा गर्दै विस्तृत कार्ययोजना र कार्यतालिका तयार गर्न पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उक्त उपसमितिले आगामी बैठकमा सुझाव सङ्कलन तथा छलफलको कार्ययोजना प्रस्तुत गर्नेछ।

बैठकले संविधान संशोधन सम्बन्धी विषयमा अन्य राजनीतिक दल तथा उनीहरूले गठन गरेका कार्यदलसँग समेत संवाद र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान शासन प्रणालीलाई अझ प्रभावकारी र सुदृढ बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक, सामाजिक र बौद्धिक क्षेत्रबाट सुझाव सङ्कलन गरिने जनाइएको छ।

कार्यदलको सदस्य सचिवको जिम्मेवारी एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले पाएका छन्। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, पासाङ शेर्पालगायत नेताहरू सदस्य छन्।

एमाले केन्द्रीय सचिवालयको गत जेठ ४ देखि १० गतेसम्म बसेका विभिन्न बैठकहरूको निर्णयअनुसार संविधान संशोधनसम्बन्धी सुझाव संकलन र अध्ययनका लागि उक्त कार्यदल गठन गरिएको थियो।

Skip This