अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुस्तावासीको पीडामा एमाले सांसद रिंगलाको साथ भनिन् : ‘नेपाली भूमि जोगाउन बलिदान दिनुपरे पनि तयार छु’

सुस्तावासीको पीडामा एमाले सांसद रिंगलाको साथ भनिन् : ‘नेपाली भूमि जोगाउन बलिदान दिनुपरे पनि तयार छु’



परासी- नवलपरासीको सुस्तामा हालै देखिएको सुरक्षा संवेदनशीलता र भारतीय सुरक्षाकर्मीको प्रवेश घटनापछि प्रतिनिधिसभा सदस्य रिंगला यादव सुस्ता पुग्नुभएको छ। स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उहाँले सुस्तावासीका समस्या समाधानका लागि संसददेखि सडकसम्म सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
स्थानीयसँगको संवादमा सांसद यादवले सुस्ताको मुद्दा कुनै एक सीमावर्ती बस्तीको समस्या मात्र नभई राष्ट्रिय सार्वभौमिकता, भू–अधिकार र नागरिक सुरक्षासँग जोडिएको संवेदनशील विषय भएको बताइन्। नेपाली भूमि र जनताको अधिकार संरक्षणका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले आवश्यक परे नेपाली भूमि जोगाउन बलिदान दिन पनि तयार रहेको बताइन् ।
उनले सुस्तावासीले वर्षौँदेखि भोग्दै आएको नागरिकता, लालपूर्जा, सीमा विवाद तथा तटबन्ध निर्माणजस्ता विषयमा विगतदेखि नै संसदमा आवाज उठाउँदै आएको स्मरण गराउँदै सुस्ताको वास्तविक अवस्था बुझ्न प्रत्यक्ष रूपमा यहाँ आएको बताइन्। सुस्ताका समस्या सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खाँले सुस्तावासी वर्षौंदेखि असुरक्षा, अन्योल र राज्यको बेवास्ताबीच जीवन बिताउन बाध्य भएको गुनासो गरे। भारतीय पक्षका गतिविधिले स्थानीयमा त्रास बढाएको उल्लेख गर्दै उहाँले सरकारलाई सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागका विषयलाई गम्भीरतापूर्वक लिएर प्रभावकारी कूटनीतिक पहल अघि बढाउन आग्रह गरे।
“हामी आफ्नै भूमिमा तटबन्ध निर्माण गर्न खोज्दा अवरोध गरियो। पछिल्लो पटक भारतीय सुरक्षाकर्मी हतियारसहित आएपछि स्थानीयवासीले प्रतिकार गर्नुप¥यो। यस्तो संवेदनशील अवस्थामा सरकार किन मौन छ ?” भन्दै उनले प्रश्न गरे।
स्थानीयवासीहरूले सीमा सुरक्षा, नागरिकता, लालपूर्जा, पूर्वाधार विकास र राज्यको उपस्थितिसम्बन्धी समस्याको स्थायी समाधान खोज्न सरकारसँग जोडदार माग गरेका छन्। सुस्ताको पछिल्लो घटनाक्रमले सीमावर्ती क्षेत्रका नागरिकका पीडा, सुरक्षा चुनौती र राष्ट्रिय स्वाभिमानको प्रश्नलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

Skip This