अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विचार हरेक जनताको मोबाइल र मन-मनमा पुर्‍याउँछौं: निरज आचार्य

एमालेको विचार हरेक जनताको मोबाइल र मन-मनमा पुर्‍याउँछौं: निरज आचार्य


काठमाडौं-नेकपा (एमाले)का केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य ले पार्टीको विचार र गतिविधिलाई डिजिटल युगअनुकूल ढंगले जनतामाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजित पद हस्तान्तरण तथा जिम्मेवारी ग्रहण कार्यक्रममा बोल्दै आचार्यले प्रचार विभागलाई प्रविधिमैत्री, तथ्यपरक र प्रभावकारी बनाउँदै पार्टीको वैचारिक उपस्थितिलाई अझ सशक्त बनाइने बताएका हुन्।

उनले वर्तमान समय केवल सूचना प्रवाहको नभई सूचनाको विश्वसनीयताको युग भएको उल्लेख गर्दै एमालेको विचार अब हरेक नागरिकको मोबाइल स्क्रिन र मन-मनसम्म पुर्‍याउने अभियान सञ्चालन गरिने बताए। ‘हाम्रो विचा-डिजिटल सञ्चार, अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन-मनमा पुग्नेछ,’ उनले भने, ‘हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्नेछौँ।’

आचार्यले पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको सत्य र तथ्यका आधारमा प्रतिवाद गरिने बताए। ‘हामी प्रोपोगान्डा र दुष्प्रचार गर्दैनौँ, तर विरोधीका हरेक भ्रमलाई सत्यको बलले ध्वस्त पार्नेछौँ। सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन,’ उनले भने।

विभाग प्रमुख आचार्यले आफू विभागको ‘कमान्डर’ नभई सबैको ‘सहयात्री’ का रूपमा काम गर्न आएको उल्लेख गर्दै सामूहिक नेतृत्व, टिमवर्क र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिने बताए। ‘विचारमा स्पष्टता, कार्यशैलीमा आधुनिकता र टिमवर्कमा गतिशीलता नै हाम्रो सफलताको मूल मन्त्र हुनेछ,’ उनको भनाइ थियो।

पदभार ग्रहण गर्दै आचार्यले पार्टी नेतृत्वप्रति विश्वास र जिम्मेवारीका लागि आभार व्यक्त गरेका थिए। साथै, विभागलाई अहिलेको अवस्थामा पुर्‍याउन योगदान दिने निवर्तमान नेतृत्व र टोलीप्रति धन्यवाद व्यक्त गर्दै हिजोका उपलब्धिलाई निरन्तरता दिँदै नयाँ ऊर्जा र प्रविधिसहित विभागलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

आचार्यले प्रचार तथा प्रकाशन विभागलाई पार्टीको नीति, विचार र सिद्धान्त जनतामाझ पुर्‍याउने महत्वपूर्ण ‘पावरहाउस’ को संज्ञा दिँदै आगामी दिनमा सबैको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा रहेको बताए।

Skip This