काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा नकारात्मक सोच र भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएको बताएका छन्।
सोमबार एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यको पदभार ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले समाजमा फैलिएको ‘पपुलिजम’ र ‘एनार्किजम’ले विचार, सिद्धान्त र भविष्यदर्शी यात्रालाई कमजोर बनाइरहेको बताएका हुन्।
महासचिव पोखरेलले समाजमा पपुलिजम र एनार्किजमको प्रभाव बढ्दै गएको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक राजनीति र दीर्घकालीन सामाजिक विकासलाई कमजोर बनाउने बताए। उनले पपुलिजम र एनार्किजमले समाजलाई भविष्यको स्पष्ट दिशाभन्दा पनि क्षणिक लोकप्रियताको पछि दौडाउन खोजिरहेका बताए।
‘आज हाम्रो समाजमा पपुलिजम र एनार्किजमको जबर्जस्त प्रभाव छ। यी दुवैले विचारधारा र भविष्यमुखी यात्रालाई सहयोग गर्दैनन्, बरु निषेध गर्छन्,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले अचेल समाजमा नकारात्मक खालको हावा चलिरहेको उल्लेख गर्दै त्यसले एमालेका विचार र मान्यताको विस्तारमा समेत अवरोध सिर्जना गरिरहेको बताए। समाजमा पपुलिजम र एनआरपीजम दुई प्रमुख प्रवृत्तिका रूपमा देखा परेको उल्लेख गर्दै महासचिव पोखरेलले यी दुवैले आफूलाई मात्र केन्द्रमा राख्ने र समाजलाई यथास्थितिमै राख्ने मान्यताको पक्षपोषण गर्ने बताए।
उनले ‘पुरानाले गर्न सकेनन्, अब नयाँलाई अवसर दिनुपर्छ’ भन्ने भाष्य निर्माण गरेर पपुलिजम र एनआरपीजमले राजनीतिक प्रभाव विस्तार गर्न खोजिरहेको टिप्पणी गरे।
कार्यक्रममा प्रचार विभागका पूर्व प्रमुख राजेन्द्र गौतमले वर्तमान प्रमुख निरज आचार्यलाई अघिल्लो कार्यकालको बैठक पुस्तिका हस्तान्तरण गरे । सोही अवशरमा प्रचार विभागका पूर्व प्रमुखहरु सूर्य थापा,मीनबहादुर शाही लगायतको पनि उपस्थिती थियो ।






प्रतिक्रिया