अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा ‘पपुलिजम’ र ‘तारणहार’ राजनीति हाबी हुँदैछ: प्रदीप ज्ञवाली

नेपालमा ‘पपुलिजम’ र ‘तारणहार’ राजनीति हाबी हुँदैछ: प्रदीप ज्ञवाली


काठमाडौँ–नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा पपुलिजम (लोकप्रियतावाद), अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्ति हाबी हुँदै गएको दाबी गरेका छन्।

बुधबार आयोजित ‘दर्शनशास्त्रको इतिहास’ पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै नेता ज्ञवालीले सो टिप्पणी गरेका हुन्।

नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

देशको राष्ट्रियता, लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला राजनीतिक स्पेसमाथि संकट बढ्दै गएको र वामपन्थी आन्दोलन समेत ठुलो मारमा परेको नेता ज्ञवालीको भनाइ छ। 

नेता ज्ञवालीले नेपालमा गम्भीर विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालमा मात्र सीमित हुन पुगेको समेत टिप्पणी गरे।

नेता ज्ञवालीले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाको चित्रण गरे।

चट्टोपाध्यायले धेरै वर्ष अगाडि ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि, मीमांसा र बौद्धिक बहसमा ठुलो खडेरी देखिन लागेको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै नेता ज्ञवालीले नेपालमा पनि दुरुस्तै त्यस्तै अवस्था देखिन थालेको बताए। नेपालमा दर्शन, वैचारिक बहस तथा सैद्धान्तिक-नीतिगत प्रश्नहरू क्रमशः साँघुरिँदै गएको उनको ठहर छ।

नेता ज्ञवालीले भने, ‘अहिलेको समयमा महत्वपूर्ण वैचारिक बहसहरू सामाजिक सञ्जालका २४० क्यारेक्टरका छोटा पोस्ट, ट्विट र केही सय शब्दका सीमित अभिव्यक्तिमा खुम्चिँदै गएका छन्।’

समाजको मुक्ति र देशको विकास कुनै स्पष्ट विचार, संस्था वा प्रणालीबाट नभई कुनै ‘तारणहार’ व्यक्तिबाट मात्र सम्भव हुन्छ भन्ने गलत भाष्य नेपालमा निर्माण गर्न खोजिएको नेता ज्ञवालीको आरोप छ। 

नेता ज्ञवालीले मुलुकको परिस्थितिबारे टिप्पणी गर्दै भने, ‘यहाँ यस्तो वातावरण बनाइँदैछ कि समाजको मुक्ति या देशको विकास कुनै विचारले गर्ने होइन, कुनै संस्थाले गर्ने होइन, त्यसका लागि कुनै प्रणाली चाहिँदैन, बस कुनै एउटा अद्भुत व्यक्ति आउँछ, कुनै तारणहार आउँछ, तिमीहरूका दुःखको मुक्तिका लागि र उसले चुट्कीको भरमा समस्याको समाधान गर्छ भन्ने ढंगले संस्थाहरूलाई मार्दै र एउटा व्यक्ति अथवा केही व्यक्तिहरूको लोकप्रियतातिर मुलुकलाई धकेल्दै लगेको अहिलेको परिस्थिति छ।’

मुलुक यस्तो असाधारण र अप्ठ्यारो संकटतर्फ अगाडि बढिरहेकाले यस परिस्थितिबाट देशलाई बचाउनका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको ज्ञवालीले बताए। वर्तमान चुनौतीहरूको सामना गर्नका लागि अब देशका सम्पूर्ण देशभक्त शक्तिहरू, प्रगतिशील शक्तिहरू र लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने र उनीहरूबिच नयाँ ढंगको सहकार्य र निकटता आवश्यक रहेकोमा उनले विशेष जोड दिए।

Skip This