अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य समस्याका कारण देखाउँदै राजनीतिबाट बिदा लिएको महराको घोषणा

स्वास्थ्य समस्याका कारण देखाउँदै राजनीतिबाट बिदा लिएको महराको घोषणा


काठमाडौं-नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। नेता महराले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा मात्रै रहने घोषणा गरेका हुन्।

नेता महराले आफ्नो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पारेका छन्। विज्ञप्तिमा उनले आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्।

उनले पार्टी जीवनका क्रममा अन्तरसंघर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा आफू सधैं इमानदार र प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि ती मूल्यप्रति समर्पित रहने बताएका छन्।

नेता महराले पार्टीमा बिताएका वर्षहरू, विभिन्न आन्दोलनका स्मृति, सहकर्मीहरूको आत्मीयता तथा देश र जनताप्रतिको प्रेम कहिल्यै समाप्त नहुने बताएका छन्। उनले शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र ‘समुद्र नेपाल’ को सपना अन्तिम श्वाससम्म जीवित रहने उल्लेख गरेका छन्।

विज्ञप्तिमार्फत उनले केही वर्षयता आफू एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिएका छन्। नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहेको भए पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन नसकेको उनको भनाइ छ।

स्वास्थ्यमा आएको जटिलताका कारण पार्टीका नियमित गतिविधि तथा जिम्मेवारीमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन बन्दै गएको निष्कर्षसहित उनले सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेका हुन्।

Skip This